काठमाडौं । टिपरको ठक्करबाट मकवानपुरको मनहरीमा मंगलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका-७ रमनटारस्थित पूर्व-पश्चिम राजमार्गमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ८४४९ नम्बरको टिपरले हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक क्षेत्री गम्भीर घाइते भएको थियो । उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो । मृतक क्षेत्रीको सालो नाता पर्ने ललितपुर महानगरपालिका-४ बागडोल बस्ने राजीव थापाले उनको पहिचान गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
टिपर र टिपरचालक नवलपरासी मध्यविन्दु नगरपालिका-१० अरुणखोला बस्ने वर्ष ४० को वीरबहादुर कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको डिएसपी भण्डारीले बताए ।