धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे. १ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।