नेपालको संसद अपराध गर्ने अखडा जस्तो बनेको छ : विप्लव सी

नेपालको संसद अपराध गर्ने अखडा जस्तो बनेको छ : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको संसद अपराध गर्ने अखडा जस्तो बनेको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले संसदमा रहेका सांसदहरुको हैसियत निकै तत्लो स्तरको भएको आरोप लगाए । ‘अहिले संसदमा जनताले तिरेको कर कसले धेरै लुटेर खाने भनेर संसदमा छलफल भइरहेको छ । तेरोमा यति पर्यो मेरो परेन, यस्तो छ ।’, उनले भने, ‘यो संसद अपराधिहरुको अखडा भयो । एउटाले अर्काको पोल खोलेको छ । एकदमै तल्लो स्तरमा मान्छेहरुले गरेको जस्तो बहस भएको छ । यसले जनतालाई केही पनि दिदैन ।’

विप्लवले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताए । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए ।

पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताए । ‘मलाई धेरै साथीहरुले तपाईं सहकारीमा नजोडिनुहोस् भनेर सुझाव दिनुभएको छ । अहिले भइरहेको सहकारीको बदनामीका कारण पनि उहाँहरुले सुझाव दिनुभएको होला । पार्टीको नेतृत्वमा विचलन आउँछ किन भन्ने धेरैमा चिन्ता देखियो ।’, विप्लवले भने, ‘अहिले म सहकारीको संरक्षक छु । उहाँहरुको सुझाव ठिकै हो । तर हामी अहिले बदनाम भएका सहकारी जस्तो हुँदैनौं । अहिलेका सहकारीले सहकारीले गर्ने काम नगरेर बदनाम भएका हुन् । हामीलाई त्यो छुट छैन । हामी सहकारीको माध्यमबाट हाम्रो उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न खोजेका छौं । हामी यसमा सफल हुन्छौं ।’

विप्लवले आफ्नो पार्टीको कृषिमा उत्पादन गरेर आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिभर पार्टी, आत्मनिर्भर देश बनाउने नीति रहेको बताउँदै कसैको पनि जमिन कब्जा गर्ने नीति नभएको बताए । ‘हाम्रो पार्टीले अहिले कसैको जमिन कब्जा गर्ने नीति लिएको छैन । तपाईंको जमिन बाँजो छ भने हामीलाई दिनुहोस् । हामी तपाईंलाई उत्पादन गरेर नाफाको केही प्रतिशत दिन्छौं ।’, उनले भने, ‘तर केही जमिन कब्जा गर्दिन्छन् की भनेर डराएको देखियो । त्यो होइन् । हामीले आर्थिक नीतिमा एकीकृत स्वामित्व भनेका छौं । अहिले कसैको जमिन कब्जा गर्दैनौं । तर तपाईंको खाली रहेको जमिनमा पार्टीले उत्पादन गर्छ दिनुहोस् भनेका छौं ।’

आफ्नो पार्टीले निजी प्रशन्नतासहित सामूहिक स्वामित्वको वैज्ञानिक अर्थप्रणाली प्रयोगमा ल्याएको बताउँदै उद्योगी व्यवसायीलाई पनि सहकार्यमा आउन विप्लवले अपिल गरे । ‘कम्युनिस्ट पार्टीलाई श्रमिकको पार्टीका रुपमा रुपान्तरण गर्नुपर्छ । हामीले यो गरेका छौं । हाम्रा नेता कार्यकर्तालाई उत्पादक शक्तिमा रुपान्तरण गरेका छौं ।’, उनले भने, ‘यसले नेतादेखि कार्यकर्तासम्मलाई अनिवार्य श्रममा जोडिन बल पुगेको छ । बैद्धिक, कर्मचारी, अरु केही पेसा वा क्षेत्रमा क्षमतावान भएपनि हामीले श्रम गर्नुपर्ने अनिवार्य नियम बनाएका छौं । तपाईंहरु पनि सहकार्यमा आउनुहोस् । हामी सहकारीलाई डुब्न दिदैनौं ।’

विप्लवले उपस्थित बुद्धिजिवीलाई विश्वस्त पार्दै नेकपा सिधै बन्दुक बोकेर जंगल नजाने बताए । ‘हामीलाई अहिले पनि सरकार र बुद्धिजीवि वर्गले फेरी यीनीहरु के हो, के हो ? भनेर शंका गरेको पाएका छौं ।’, उनले भने, ‘हामी नेपालको अस्मिताको रक्षा गर्नुपर्यो भने तपाईंहरुलाई सोधेर, अनुमति लिएर, छलफल गरेर जाउँला । तर अहिले यस्तो केही सोचेका छैनौं । चुनावमा जाने नीति पारित गरेपछि त केहीमा यो शंका मेटिएको पाएका छौं । तर केहिमा अझैं चिन्ता छ । हामी देशलाई आत्मनिर्भएर बनाएर जततालाई स्वाधिन र सुखी बनाउने बाहेक केही सोचेका छैनौं ।’

विप्लवले नेपालको राजनीति अर्थतन्त्रसँग नजोडिएका समस्या उत्पन्न भएको बताए । ‘नेपालको राजनीति अर्थतन्त्रसँग जोडिएको छैन । हामी यस यसलाई अर्थप्रणालीसँग जोडेर हेर्न चाहन्छौं । नेपाल अर्थप्रणालीमा जोडिने वित्तिकै नेपालमा रोजगारी सृजना हुन्छ । विदेशीने क्रम पनि रोकिन्छ ।’, उनले भने, ‘यसलाई हामीले श्रमसँग पनि जोडेका छौं । श्रम र समय रोकेर रोकिने कुरा होइन । यसलाई जसले प्रयोग गर्छ । उसले जित्छ । अहिले हामीले प्रयोग गरेका छौं । हामी अवस्य जित्छौं ।’

उनले कम्युनिस्टहरु द्वन्दवादको सिद्धान्तका कारण असफल भएको बताउँदै आफ्नो पार्टीले यसलाई मिलाएको बताए । ‘विश्वका कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा द्वन्दवादको नियम प्रयोग गरेर पनि हो ।’, उनले भने, ‘निशेधको निशेध कहिँपनि हुँदैन । बरु यसमा अनिश्चय र रुपान्तरण हुन्छ । द्वन्दवाद गलत होइन, यो अपूर्ण छ ।’

विप्लवले उपस्थित बुद्धिजिविलाई एक पटक विभिन्न माध्ययमबाट साथ दिन अनुरोधसमेत गरेका थिए । ‘हामीलाई साथ दिनुहोस् । हामीमा कहिल्यौ पनि विचलन आउने छैन ।’, विप्लवले भने, ‘विचलन आउने बेलामा त हामी विचलित भएनौं । कसैको प्रभावमा परेनौं । अहिले त हामीले धेरै अगाडि बढिसकेका छौं । यसलाई तपाईंले साथ दिनुभयो हामी सफल हुन्छौं । देशलाई नै सफल बनाउँछौं ।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले सहकारीमार्फत उत्पादित सामाग्रीको बजारिकरण, औधिगिकरण र प्रविधिको प्रयोगसम्बन्धी जिज्ञासा र सुझाव दिएका थिए ।

अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सहकारीका प्रवन्धक सुशील सीले गरेका थिए । कार्यक्रममा १२ लाख बराबरको लगानी जुटेको छ ।