फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबारदेखि काठमाडौं महानगरपालिका-१२ स्थित टेकुबाट सेवा सुरु गरेको छ । टेकुबाट जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि महाशाखाले टेकुबाट सेवा प्रवाह सुरु गरेकोउपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौंले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गरेको हो ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, “नेपाल आयल निगम परिसरकै दुई रोपनी जमिनमा रु ७२ करोडमा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी भवन निर्माण हुँदैछ ।”

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुबाट सेवा दिँदै