साङ्केतिक तस्बिर 
काठमाडौं । मकवानपुर प्रहरीले शुक्रवार राक्सिराङ गाउँपालिकाबाट अवैध लागूऔषध गाँजासहित दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको एउटा बोलेरो र एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिए। चैनपुर-मनहरी भित्री सडकखण्डअन्तर्गत राक्सिराङ ५ जिर्खे र आँपखोल्सीको बीचमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राक्सिराङबाट आउँदै गरेको बा ६ च ८२५९ नम्बरको बोलेरो गाडी र बा.प्र.०६-००१ प ५५८९ नम्बरको मोटरसाइकललाई गाँजासहित नियन्त्रणमा लिएको हो।

दुवै सवारीलाई रोकेर जाँच गर्न खोज्दा नरोकी फरार भएको बोलेरो र मोटरसाइकललाई पछ्याउने क्रममा पुनः राक्सिराङतर्फ भाग्ने क्रममा बाटोको नालामा परेको र दुवै चालक फरार भएको डिएसपी भण्डारीले बताए । प्रहरीले नालामा परेको बलेरोमा खानतलासी गर्दा  बिच भागको सिटमा लुकाएर ल्याएको रातो प्लाष्टिकले बेरेको १० वटा पोकामा रहेको ४० किलो गाँजा फेला पारेको छ ।

दुवै सवारी साधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता भण्डारीले बताए । फरार रहेका दुवै चालकहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।