share 298 तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो । इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । यो पहाडी र जंगलले भरिएको क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ । हेलिकप्टरले हार्ड ल्यान्डिङ गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए । राष्ट्रपति इब्राहिम रईसीलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् । सन् २०२१ मा उनले राष्ट्रपति चुनाव जितेका थिए । चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफैँलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए । इरानी न्यायपालिकाका प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ । रईसीको जन्म सन् १९६० मा इरानको दोस्रो ठुलो सहर मशादमा भएको थियो। यस सहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ। पोस्टको नेभिगेसन ताइवानको संसदमा झडप, पाँच सांसद अस्पताल भर्ना ड्रोनले फेला पार्यो इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थल, कस्तो छ अवस्था ?