गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका निम्ति गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेको छ ।

 

बिहिवार माओवादी केन्द्र गोरखाले जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको ‘पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’ मा दाहालले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बर्द्धनमा जुट्न सबैसँग आग्रह गरे ।

सो कार्यक्रममा समग्र पार्टी पङ्तिको ध्यानाकर्षण गर्दै उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने, उल्ट्याउने कोशिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’’

पहिलो संविधानसभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले राजनीतिक इतिहासको सुक्ष्म ढङ्गबाट समीक्षा गरी आमजनताको विश्वास जित्नेगरी काम गर्न पनि पार्टी पङ्तिको ध्यानाकर्षण गराएको थियो ।

सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै दाहालले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्याउने अठोटका साथ अघि बढेकोले पार्टी नेतृत्वलाई सफल बनाउन सबै तहका नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताए ।