काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान नदिएको दाबी गरेका छन् ।
बुधबार एमाले संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिएको र बयान पनि नदिएको बताएका हुन् । उनले आयोगले प्रश्नपत्र पठाए पनि आफूले नबुझेको र आयोगको प्रक्रिया स्वीकार नगरेको उल्लेख गरे ।
ओलीले भने, “मैले आयोगमा बयान दिइनँ ।
आयोगले आफ्नो इज्जत जोगाउन बयान दियो भनेर छाप्यो होला । त्यसमा मेरो भन्नु केही छैन ।”
तर आयोगका सदस्य तथा प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले ओलीको दाबी अस्वीकार गरेका छन् । उनले आयोगसँग ओलीको रेकर्ड गरिएको बयान सुरक्षित रहेको बताएका छन् ।
शर्माले भने, “उहाँले बोलेका सबै कुरा रेकर्डमा छन् । अन्तिममा ‘यो मेरो बयान होइन’ भन्ने शैलीमा दोहोरो अर्थ लाग्ने अभिव्यक्ति दिनुभएको थियो, तर उहाँको भनाइ सुरक्षित छ ।”
आयोगसँग सम्बन्धित एक सुरक्षाकर्मीका अनुसार तत्कालीन जाँचबुझ आयोगले कर्मचारी पठाएर ओलीको बयान रेकर्ड गरेको थियो ।
२०७९ सालको निर्वाचनमा झापा–५ बाट पराजित भएपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक विस्तृत रूपमा बोलेका ओलीले आयोगबारे पुरानै असन्तुष्टि दोहोर्याएका हुन्


