रास्वपाका सभापति रबि लामिछानेलाई कुनै बेला सामाजिक सञ्जालमा अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जस्तै ‘हिरो’का रुपमा समर्थकले प्रस्तुत गर्थे । पछिल्लो समय सहकारी प्रकरणको गम्भीर विवादमा मुछिएका लामिछाने दुई पटकसम्म सरकारमा जाँदा पनि परिणाम दिन नसक्दा समर्थकहरू चिन्तित हुन थालेका छन् ।
रास्वपाले इलाम २ मा भोगेको नमिठो हारपछि नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो । आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये एक नेता थिए महामन्त्री डा. मुकुल ढकाल । महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि तरंग पैदा भएको छ ।
गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका ढकालले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएको हो । वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएपछि पार्टीभित्रै उनको घेराबन्दी सुरु भएको छ ।